Friday, February 3, 2017

मेरो र उनको प्रेम

घर आएको पन्ध्र दिनमै,
समान पोको पार्छन बुढा,
मनको पिडा खोलि-नसक्दै,
तै पनि झोला कस्दा खुसि नै देखिन्छन्,
माइक्रो चडी काठमाडौँ जान,
अनि प्लेनमा बसी विदेश जान !

म पनि उनलाई छोड्न माइक्रो चढे,
मलाई कुनामा राख्दै उनि छेउमा बसे,
नयाँ बसपार्कको सानो कोठामा,
केहि अन्तिम रातहरु
मलाई लुट भनेर छाडिदिए !

दरबार मार्ग कटेर,
असन अनि न्यु-रोड पुग्छौ !
किनकि उनको पसिनाको औकात एती नै छ !
मैले रोजेको मायालु कपडाहरुले,
भर्खर किनेको झोला भर्छन !

पशुपति गयौं,
समागमले मत्त बादर देख्यौं,
भित्र-भित्रै रोमान्चित हुदै,
मैले मेरो माग़ नरित्तिने बर मागे,
उनले उनको अंगालो खाली नहोस भनेर मागे होला !


अन्तिम रातको उनको कसिलो अंगालो,
मैले अझै कस भने !
सबै रहर मेट भने !
पछी तिम्रा हातहरुमा,
मेरो बदन भन्दा कयौ गुणा,  
कडा फलामहरु संगै हुनेछन !
यता मेरा ओठहरु पनि,
त्यसै सुकेर जाने छन् !


अर्को दिन, जब म उनलाई छोड्न एअरपोर्ट पुग्छु,  
छेउबाट आएका २-४ राता बाकसहरु देख्छु !
मन चसक्क हुन्छ,
कतै मलाई समाल्ने उनको ज्यान,
यस्तै रातो बाकसमा त आउने होइन ?



 कल्पना किरण 
३-०२-२०१७ 

2 comments:

SHUBHAGVA said...

Emotionally well written :)

Anonymous said...

It is sad but true..