Thursday, April 30, 2015

यो कस्तो कम्पन ??


अरु विपत्तिमा भन्दा भूकम्प धेरै नै फरक बिपत्ति हो | न यसको कुनै लक्षण हुन्छ नत कुनै पूर्व-संकेत नै | केहि सेकेन्डको कम्पनले पहाडलाई तराई त तराईलाई पहाड बनाउन सक्छ | उच्च भूकम्पीय जोखिममा नेपाल पर्छ भनेर सानैमा पढेको हो | एकदिन जानुनै थियो र गयो पनि,  अनि सबै खुसि चुडेर लग्यो पनि | १९९०, २०४५ पछी २०७२ सालहरु नेपाली इतिहासको पानामा रहिरहने छन् | तेती धेरै बैज्ञानिक खोज नगरीकन भनेपनि यो क्षेत्रमा अब हरेक ३०-४० सालमा ठूलो भूकम्प जाने सम्भावना चाही रैछ | सन् २००१ र २००५ मा हाम्रा छिमेकीहरु पनि येही विपतिबाट गुज्रेका थिए | त्यहाँ भएको मानबीय र भौतिक क्षती भन्दा हाम्रोमा हुने क्षति धेरै नै कम हुने अनुमान छ | २००५ को कास्मिर भूकम्पमा असि हजार मानिसहरुको मृत्यु भएको थियो |

नजानु थियो तर गएर नै छोड्यो, यो हाम्रो ठुलो राष्ट्रिय बिपत्ति हो | मेरो घरमा त सानो चिरा मात्रै परेछ तर देशमा ठूलो चिरा परेर गयो, अब समस्या त छ तर केले सिउने केले टाल्ने हो | मर्नेहरु मरे, भत्किन मिल्नेहरु जति भत्के तर यसको असर कालान्तर सम्म रहिरहेने छ | तेही हो अहिले बचेकाहरुले बहत्तरसालको भूकम्पमा बाचेको भनेर फुर्ति गर्न मात्रै पाउने छन्, पछी भविस्यमा | बाबु-आमा गुमाएको बच्चा सधै भरि टुहुरो नै हुनेछ, २० सालको कठोर परिश्रमले बनाएको घर फेरी त्यो परिवारबिहिनलाई नया घर बनाउन अर्को १०-१५ साल लाग्ने नै छ | ति कालान्तरका कुरालाई थाति राखेर भन्ने हो भने अहिले को समस्या भनेको यो बिकराल परिस्थितिबाट कसरी मुक्ति पाउँने भन्ने मात्रै हो |
अहिलेसम्म कति मरे, कति घाइते भए, कतिका घर भत्के, यसको जानकारी नेपाल सरकारलाइ समेत थाहा छैन | अहिले राजधानी र अति प्रभावित ८-९ जिल्लाहरुमा जता हेरेपनि फुटेका-भत्केका मात्रै देखिन्छन् होला | अहिलेको मुख्य काम भनेको मरेकालाई राम्ररी व्यवस्थापन गर्नु र बचेकालाई आधारभूत आवस्यकताहरु पुर्याउने हो | मनसुन र गर्मी सुरु हुदैछ, जीवाणु र विषाणु सक्रिय हुने समय हो | जतिसक्दो चाडो घाइतेलाई उचित उद्दार र उपचार, घर-बाहारबिहिन भएकालाई कमसेकम ओत, सफा पानी, ठीकैको खानाको सक्त जरुरी छ | त्यसैका लागि भनेर धेरैले काठमाडौँ छोडेर हिडिसके तर सबैलाई आफ्नो ठाउँ छोड्न सम्भव पनि छैन |

भूकम्प गएको ४-५ दिन बितिसक्दा पनि म आफैले २-४ डलरको आर्थिक सहयोग, २-४ जनालाइ सहयोगको लागि अनुरोध र ८-१० कुरा फेसबुकमा सेअर बाहेक केहि गरेको छैन | यो महाविपत्तिमा कसले कति र कस्तो सहयोग गर्ने भन्ने कुरा आफैले मनन गर्ने कुरा हो | सबैले आफुले गर्न मिल्नेसम्मको सहयोग गर्ने हो, बिदेशीयका नेपालीले बाहिरबाट भरपुर मात्रमा आर्थिक र सर-समानको जोगो गर्ने अनि नेपालमा रहेका साथीहरुले तेस्को राम्रो उपयोग गर्ने हो | आफ्नो ज्यानको बाजी मारेर सहयोग गर्ने हातलाई आर्थिक सहयोग गर्नेसंग राखेर तुलना त गर्न नमिल्ला तै पनि बाहिरबाट गर्ने सकिने सहयोगहरु भने सिमित हुन्छन |

बोल्न, गालि गर्न, लेख्न त हामी धेरै नै अगाडी छौ | हामी हाम्रो फेसबुकको भित्ता रंग्याउन पनि सार्है माहिर छौ | कहाँबाट आयो, कसरी आयो भन्ने कुरा बुझ्दै नबुझी सबैलाई देखाउन हतार गर्छौ | मानौ गोर्खामा महामारी आयो भनेर एउटा काम नपाएकोले लेख्यो अनि हामी सबैले सेअर गर्यौ | एस्तो दुखको घडीमा खाडीमा परिश्रम गर्ने गोर्खाली दाजुलाई यो झुटो समाचारले कति असर गर्नेछ, त्यो सोचौ न एकछिन | फेसबुक चलाउन धेरै पैसा त लाग्दैन तर चलाउन समय चाही पक्कै लाग्छ | देशनै पिडामा डुबेको बेला देशले हाम्रा हातहरुबाट भत्केको इटा उठेको हेर्न चाहन्छ, सहयोग पाइरहेका आत्माहरु देख्न चाहन्छ, सुखद, र राम्रो समाचार बजेको सुन्न चाहन्छ | सबैले ढुंगा-मुडा नै उठाउनु पर्छ भन्ने पनि छैन, सबैले आफुले सकेको गर्ने न हो | पैसा संकलन गर्ने, समानहरु किन्ने, सामानहरु पोको पार्ने आदि पनि काम नै हो नि , यो गरौन पहिला | बन्द कोठाको भित्रबाट बल्ल-बल्ल चार्ज भएको inverterले उपहारमा आएको आइफोनबाट भए-नभएका फोटोसपी तस्विर तथा भिडियो देखाएर नेतालाई मात्रै दोष दिन खासै गार्हो छैन |

एउटा कुरा नेताले गरेर भूकम्प आको पनि होइन | भूकम्पले खासै मान्छे मर्ने पनि होइन, मान्छे मर्ने भत्केका भवनहरुले हो | अहिलेको भूकम्पमा सरकारी भवनले चेपेर मर्ने भन्दा आफ्नै घरले चेपेर मर्ने धेरै छन् | जुन पुरातत्तिक भवनहरु भत्केको छ त्यो सबै हाम्रा पुर्बजहरुको देन हो | न सुशील ले न केपी ले न प्रचण्ड ले केहि गरे, ति पुरातत्तिक भवनहरु बनाउन | भत्किएका जति सबै नेपाली जनताकै घरहरु हुन् | हाम्रा घर कुनै नेताले ढालेका पनि होइनन | हाम्रो घर हाम्ले नै बनाएको हो | अलिक आर्थिक रुपमा कमजोर हुनेहरुले बनाएका कच्ची घरहरुले त्यो ठुलो कम्पन सहने कुरै भएन | गरिबीका लागि नेताहरुलाइ दोष दिन अलि-अलि त पाइएलानै तर  १२ फिट जमिन किनेर कमजोर जगमा ४-५ तला थप्दै जान पक्कै प्रचन्डले भनेका थिएनन् होला | हामीलाई जस्तो मन लाग्यो तेस्तो घर बनाउन सरकारले भनेको पनि होइन | सबैलाई थाहा थियो नै, एक न एक दिन भूकम्प जान्छ नै | अहिले पनि काठमाडौँमा दमकल छिर्ने बाटो चेपेर भनेपनि घर त बनेकै छन् | पछी आगो लाग्ला दमकललाई जान नमिल्ला अनि दोष फेरी सरकारलाई नै | सरकारको कमजोरी छैन भनेको होइन, निर्माणमा सरकारले उचित मापदण्ड बनाएर लागु गर्नु पर्थ्यो, पहिले देखि नै | यहाँ ठुलो कमजोरी भएकै हो तर मापदण्ड मिचेर घर बनाउने हामी पढेलेखेकाहरु पनि उतिनै जिम्मेबार छौ |

सरकारको कमजोरी छैन भनेको होइन, भूकम्प पश्चात उचित व्यवस्थापन गर्न नसक्नु ठुलो कमजोरी हो | सहयोग गर्ने हातहरु आएकै छन्, सबैको उचित उपयोग भएको छैन | गाउ-गाउमा अहिलेसम्म खासै सहयोग पुग्न सकेको छैन | यसमा खबरदारी गर्दै आफुले पनि सहयोग गर्ने सबै नेपालीको कर्तब्य हो | थर्किदै गरेको घर छोडी भाग्दा घरका सबै समान चोरी भएका छन् | पोलिस दाईहरु घर कुर्ने कि उद्दार मा जाने ? हामीहरु आफै पनि धरहराको इटा लानसम्म पछी परेनौ | आपतको बेला सहयोगी हुनको साटो १५ रुपिया को चाउ-चाउलाइ ५०-१०० बेच्ने हामि नै हौ |  टेन्टमा बल्ल-तल्ल सास लिदै गरेका माहिलाहरुलाई दुर्व्यहार गर्ने पनि हामी नै हौ| आफ्नो घरमा खासै क्षति भएन, तै पनि पिडितको लाइनमा बस्न पछी परेनौ, नेतालाई फोन गरेर लुसुक्क सहयोग लिन लागि पर्यौ | एउटा जाबो त्रिपाल अर्को भूकम्पलाई काम लाग्ला भनेर असली पिडितलाइ पानीमा रुझाउदै त्रिपाल लिई घर भित्र कुद्यौ | अहिले सरकारले भूकम्प पिडितका छोरा-छोरीलाई डाक्टर-इन्जिनिएर बनाउन छात्राबृति दिने भनेपनि पछी नक्कली पिडितले नै धेरै उपयोग गर्ने परम्परा छ | २०६२ को क्रान्तिमा घरभित्र बसेर टि.भि हेर्नेहरु पनि जन-आन्दोलनको घाइते बनि डाक्टर बनेको हाम्ले देखेको नै हो, असली घाइतेहरु त कता गए कता |

मैले १२ सक्दा गडतन्त्र आएको देशमा मैले २० कक्षा पुग्दा समेत संबिधान बन्न सकेन | सरकार कति निकम्मा छ भनेर भन्ने पर्दैन, डाक्टर केसी भोको बस्दा म के गरम तनी भन्ने प्रधानमन्त्रि हाम्रै हुन् | तेसैले हामी पनि धेरै जागरुक र क्रियासिल हुन जरुरी छ जति हामी गफ गर्छौ | सहयोग गरेको १-१ पैसा कता जाला भनेर हिसाब गर्ने समय होइन यो | दानको पैसाले कोहि पनि खुसि-करोडपति हुदैन | त्यसैले अहिले धक नमानी सहयोग गर्ने समय हो , आर्थिक गर्न मिल्नेले आर्थिक, भौतिक रुपमा सहयोग गर्ने मिल्ने ले तेस्तै सहयोग गर्ने हो | कसले के गर्यो कस्तो गर्यो भनेर मुल्यांकन गर्ने समय भविस्यमा आउने छ | 

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, अरु संघ-सस्थाहरु जतिले सहयोग गर्नु भएको छ, तेस्को लागि जुन शब्दले बयान गरे पनि काफी छैन | बिदेशी सहयोगी हातहरुलाइ प्रणाम | पिडित जनताहरुलाई नआत्तिन अनुरोध, बिस्तारै सबै समस्याहरु समाधान हुनेछन् | मृत-आत्माहरुलाई चिर-शान्तिको कामना, हामी सबैलाई धर्यधरण गर्ने शक्ति प्रधान गरुन |
अन्तिममा नेतालाई सुधार गर्ने गालि गरेर नै हो, तर पहिले हामी आफ्नो काम र कर्तब्य निभाउ | अहिले आएको सहयोगलाई उचित तरिकाले उपयोग गरौ | सबै पिडितहरुले औसधी, सफा पनि, खाने खान, झुल, कम्मल र एउटा सानो छात पाउन र हामीहरु पुर्याउन सहयोगी हौ | यहि अबृतिमा भूकम्प आउने थाले अर्को ३० वर्ष अर्को महा-भूकम्प नआउला भन्न सकिन्न | अहिलेको भूकम्पबाट पाठ सिकी नया भौतिक पुर्बधारहरु धेरै कम्पन सहन सक्ने बनुन, भत्किहालेको खण्डमा २-४ घण्टामा उद्दार गर्न सक्ने देश बनोस | यसका लागि हामी अहिलेको कम्पनबाट धेरै कुरा सिकेर एउटा असल मानिस/नागरिक बन्नु धेरै जरुरी छ | अहिलेको समस्या भनेको हामीमा मानबियताको कमि हुनु सबै भन्दा ठुलो समस्या हो | आफु भला तो जगत भला |||

जय नेपाल
कल्पना किरण
३०/०५/२०१५