Thursday, June 8, 2017

फ्रस्टेटेड केटो

(प्रस्तुत हास्य व्यंग्य काल्पनिक हो, कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ)

कहिले-काहिँ त एक-बिहानै देखि रिस उठ्छ भन्या | पूर्बी गोलार्धमा रात हुदा पश्चिमी गोलार्धमा दिन हुने भएर हो कि के हो, आँखा खोल्न भन्दा अगाडी सुति-सुति फेसबुक खोलेपछि आफै रिस उठ्ने रैछ | यसो एकछिन टाइमलाइन स्क्रोल गर्नु मात्रै पर्छ, उहिलेका झुम्रिहरु अहिले च्वाक-च्वाक भएर, बुढासँग टासिएर फोटाहरु राख्छन | कहिलै केटिको पाँच मीटर नजिक जान आँट नगर्ने मुला-का-सागहरु पनि सर्लक्क आफ्नी बुढीलाइ अंगालो मारेर फोटो हाल्छन बा | हेरु कि नहेरु हुन्छ फोटो पनि, नहेरुं नि कसरी, पुरै भित्ता भर्या छ | आफ्नो भने पारानै अर्कै, अगाडी-पछाडी जताबाट पनि बिना रोकतोक छुन पाउने भन्या यहि सिरानी रैछ | तै पनि तेती धेरै दुखि चाही छैन म | माइकालालहरुले तेही बिदेशी भिसा/ग्रीनकार्ड देखाएर त पट्या हुन् भनेर चित्त बुझाउछु | तेही पनि कि बाउले, कि सानिमाले, कि मामाले यसो मिलाइदिएर लव पर्या त हो यिनीहरुको | काठमाडौंमा माइक्रो चड्दै शंकरदेव पढ्न हिड्या भए यी नानीहरुका नंगले पनि भाउ दिन्थेंन होला | तर के गर्ने एसो फोटोमा camry देखायो, पुगी गो नि | के थाहा नेपाली नानीहरुलाई यो camry भन्या अमेरिकन मारुती-८०० हो भनेर | जे-जे भए नि सबै दुक्लिदै गए, दिन-रात बेस्त हुन थाले | आफु चाही आजिबन एक्लो, तेही माथि बोल्ने मान्छे कम भएर झनै बोर | साला जिन्दागी पनि तिन सिकुएंस नपुगेर हातमा साढेको ल्याम्फे जस्तो भो, माल त हो तर काममा नआउने |


आजकल फेरी १०१ को प्यासन फोटोग्राफी रे | twitter, instragram, flicker, फेसबुक जता पनि तेही फोटो | कता-कता मात्रै लाइक गरम जस्तो | ६००-७०० डलरको बडी, २००-३०० को लेन्स, अनि क्यामेरा अड्काउने डण्डा किन्यो, अनि क्यामेराम्यान बन्यो | पहिले-पहिले अदभुत दृश्यहरुले क्यामेराको सेन्सर खोज्थे रे, आजकल चाही क्यामेराको सेन्सरलाइ दृश्य खोज्दै हिड्नु पर्ने बाध्यता | कहिले कहिँ त तेही क्यामेराको अगाडी उभिने पार्ट-टाइम जब गरुम-गरुम लाग्छ | त्यहि पनि फोटो चाही अचाक्ली हाल्छन | केटाहरुको फोटोले लाइक भन्दा धेरै त पाउदैन, केटिहरुको फोटोमा चाही google गरि गरि भनेपनि प्रभावशाली कमेन्ट गर्न चाही पछी पर्दिन | धन्न कमेन्टलाइ लाइकसम्म चाही दिन्छन है नानीहरु | एउटा DSLR किनम किनम जस्तो नि लाग्छ, तर के गर्नु यसको फुलफर्म जान्नलाइ त google बाबा चाहिन्छ, कुन मुखले प्यासन फोटोग्राफी भन्नु | अब घाटीको कसरतलाइ के १००० डलर सक्नु र !


दिन-भर काममा गयो अर्कै टन-टन | सबैले आफ्नै प्रगति सुनाएर हैरान | राम्रो त अरुले भनेको पो राम्रो, आफै मपाई गर्दा त नसुहाउने रच | आफ्नो उपलब्धी भन्या खाना पचाउने र सास फेर्ने मात्रै भेटियो, लीस्ट बनाउदा | २-५ ओटा क्रोम-ट्याबमा फेसबुक, instagram, twitter आदि खोल्दै बसेपछि प्रगति नि के होस् र ! जति चलाए भने पनि नेपाला भाकी प्रगतिलाइ समेत पनि रोक्न चाही सकिएन | नेट धेरै चलाउ काम जहाँको तेही, नचलाउ ति पुराना-पुराना क्रसलाइ पिछा कसले गर्दिने फेरी ? उमेर नि एती भएछ कि, पहिले कट्टु नलगाई हिड्ने भुरा-भुरी पनि अहिले आएर अन्डर-वेअरको ब्रान्ड शो-ओफ गर्दै हिड्छन बा | थोपडाले नि धोका नै द्या हो कि जस्तो लाग्छ कहिले कहिँ त | एती धेरैका पछी लागियोकि गन्ने भए हातका त के गोडाका औला समेत सकिन्छन् होला, तै पनि एउटीले भाउ द्या होइनन् | एसो मोबाइलको अगाडिको क्यामेरा प्रयोग गरेर अनुहार पनि हेर्छु, तेती कुरूप पनि होइन त | आमापनि बेल्का-बेल्का कल गर्दा राम्रै छस भन्छिन, तै पनि मेरो जिन को निरंतरताका लागि  कोहि अग्रसर हुन्नन् त | कमजोरी मेरो सोच मा पो हो कि ? फेरी सोच्छु, कहाँ मेरो हुनु, के छ र कमजोरी, म त Mr Perfect नै जस्तो नि लाग्छ |


भएभरको फ्रस्टेसन निकाल्न बेल्का-बेल्का फुटबल खेल्न नि जान्छु | केटाहरुले ठेलेर नै हैरान | जिममा गएर फुलाएको ज्यानको फुर्ति मलाई देखाउछन् | कहिले कहिँ फेरी बल छुन नदिएर तनाब | के विदी कुद्न सक्या होलान | आफुलाइ चुरोट र जाडले आत सुकाएको होकी जस्तो नि लाग्छ, तेही माथि मोटो ज्यान | आफुलाई फेरी स्ट्राइकर हुनु पर्ने, डिफेन्स बाट खेलाउन खोज्छन | टोरेसले भन्दा धेरै मिस गरे पनि पछाडी चाही खेलिन्न | फूटबलमा के नै प्रगति हुनु र, तेही भएर एसो ठुला-बढाको सानवाला गेम, टेनिस खेल्न सुरु गरे | कहिले टि.भीमा धेरै टेनिस नहेरे पनि, एसो youtube मा हेरेर खेल्न चाही गइयो | एता टेनिसमा पनि केटाहरुले ace र winner हानेर हैरान | रिसको झोकमा म पनि जोडले दिन्छु, तर के गर्नु टेनिसमा छक्का नहुने रैछ | साला भगवानले सबैलाई केहि-न-केही होनर देका हुन्छ रे ! मलाई चाही के देका रैछन आधा उमेर सकिदासम्म पत्ता लगाउन सकिएन त | कि मलाई बनायेसी ट्यालेन्ट हाल्नइ बिर्सेछन् कि त ?

दिन-भरको कामले लखतरान भएर कोठामा आउछु | तेही फोहोर कोठा, लोग्ने मान्छे बाख्राको बोका जस्तो गनाउने भए, हाम्रो फ्ल्याट पनि तेस्तै गनाउथ्यो होला, तर मान्छे प्रजातिका भालेले चाही डियो र पर्फुमले नुहाउने नै रचन, तेही भएर तेती धेरै चाही नगनाउने | न कोठा मिल्या छ, न कहिले खाना बन्या छ | बाहिर साइलीकोमा खाएर आयो, चलेकै छ | बिचारी साइली पनि चालिस कटेसी समाउने भन्दै बसेकी छे | आफ्नो पारा नि तेही होला जस्तो छ, साइलीको बरु साइला छ मेरो चाही पो को होला हो ४० पछी ? बेडमा पल्टेर म्यासेन्जर चलायो, रिप्लाई नभएका hi हरु मात्रै धेरै देखिन्छन, कोइ-कोइ लाज नभाका त, सिन गरेर तेसै छोडीदिन्छन | रिप्लाई नगर्ने सबलाइ डिलिट गर्न मन लाग्छ के गर्नु नेत्र सन्तोषका लागि भए पनि आफ्नो रिस कन्ट्रोल गर्छु |


हल्का आनन्द बेल्का आमासँग भीडियो च्याट गर्न हो | जे भए पनि आमाले चाही आफ्नो छोराको होनर चिनेकि छिन | उनलाई नै मेरो असल भाउ थाहा छ | अनि बिहेको कुरा निकाल्छिन, तेस पछी भने हल्का राहत महसुस हुन्छ, येही जिन्दगीमा कोइ-न-कोइ त पाइनेनै भयो भनेर, भलै आमाले खोजेको नै किन नहोस | आजकल हाम्रा साथीहरुले भेटेको १५ मिनट मै लप पर्यो भन्छन, मेरो किन नपर्ला र ! अब कुनै मुलालाई दह्रो झड्का दिनुपर्छ जस्तो लाग्छ , तेस्को गर्ल-फ्रेन उडाएर | एसो फेरी सोच्छु, कस्तो केटि बिहे गर्ने, पढेकी गरम धेरै पेलेर टेन्सन देली भन्ना डर, कम पढेकीसँग कुरा नमिल्ला भन्ना डर | अलि राम्राले कम पढेका, ठीकैकाले धेरै पढेका, के गर्ने ? पढेका राम्राले फेरी भाउ नदिएको अवस्था | ठ्याक्कै मिल्या केटि सिंगल पाउन र गण्डकीको बालुवामा सुन पाउन उतिनै गार्हो रैछ | फेरी सोच्छु संगैका मुलाहरु येही टिन्डर चलाएर फेरी-फेरी dating गईराका हुन्छन | मलाई तिनीहरुको चर्तिकलाले मुखमा पानी नआएको हो र ? अनि मलाई चाही अर्कैको ब्रेकअप गराएर बिहे गर्ने बाध्यता ? बिहे गर्ने मूड नै परिबर्तन भो | आमालाई अहिले नै बिहे गर्दिन भनेर कल राखे | उनि ठुस्किदै फोन राखिन | भाग्यमानीका गर्ल-फ्रेन ठुस्किन्छन अभागीका आमा  ठुस्किन्छन रे ! कोठामा एकछिन टोलाए, यो जीवनमा आफ्नो आलिंगनमा रमाउने भन्या येही सिरानी जस्तो लग्यो | फ्रिजबाट दुइ ठुलो क्यान बियर लिएर आए, तन-तन पारी २ घुड्कोमा सके, पैसा बचाउन AC बन्द गरि, तेही गनाउने सिरानीलाइ अंगालो मारी बेडमा लम्पसार परें |


By Kalpana Kiran
Singapore (8/06/2017)

Friday, February 3, 2017

मेरो र उनको प्रेम

घर आएको पन्ध्र दिनमै,
समान पोको पार्छन बुढा,
मनको पिडा खोलि-नसक्दै,
तै पनि झोला कस्दा खुसि नै देखिन्छन्,
माइक्रो चडी काठमाडौँ जान,
अनि प्लेनमा बसी विदेश जान !

म पनि उनलाई छोड्न माइक्रो चढे,
मलाई कुनामा राख्दै उनि छेउमा बसे,
नयाँ बसपार्कको सानो कोठामा,
केहि अन्तिम रातहरु
मलाई लुट भनेर छाडिदिए !

दरबार मार्ग कटेर,
असन अनि न्यु-रोड पुग्छौ !
किनकि उनको पसिनाको औकात एती नै छ !
मैले रोजेको मायालु कपडाहरुले,
भर्खर किनेको झोला भर्छन !

पशुपति गयौं,
समागमले मत्त बादर देख्यौं,
भित्र-भित्रै रोमान्चित हुदै,
मैले मेरो माग़ नरित्तिने बर मागे,
उनले उनको अंगालो खाली नहोस भनेर मागे होला !


अन्तिम रातको उनको कसिलो अंगालो,
मैले अझै कस भने !
सबै रहर मेट भने !
पछी तिम्रा हातहरुमा,
मेरो बदन भन्दा कयौ गुणा,  
कडा फलामहरु संगै हुनेछन !
यता मेरा ओठहरु पनि,
त्यसै सुकेर जाने छन् !


अर्को दिन, जब म उनलाई छोड्न एअरपोर्ट पुग्छु,  
छेउबाट आएका २-४ राता बाकसहरु देख्छु !
मन चसक्क हुन्छ,
कतै मलाई समाल्ने उनको ज्यान,
यस्तै रातो बाकसमा त आउने होइन ?



 कल्पना किरण 
३-०२-२०१७ 

Saturday, March 12, 2016

रुची

(यो कथा काल्पनिक हो, कसैको जीवनसंग मिल्न गएमा संयोग मात्रै हुनेछ | यो कथामा लेखेका कुरा मेरो वक्तिगत विचार होइन |)

“ साधना रे त्यो नानीको नाम ”, बुवाले स्काईपमा भन्नुभयो | मैले फेसबुकको सर्चबारमा साधना टाइप गर्दा दुई-दर्जन साधनाहरु भेटिए | घरमा मेरालागि खोजेका केटिहरु मध्यकी सबैकुरा मिल्ने, असल, र राम्री केटि हुन् रे, साधना | समान सामाजिक र आर्थिक धरातल मिलेकाले बाउ-आमालाई पनि सारै राम्रो लागेछ | “ होइन के थर हो केटिको, साधना त धेरै देखायो त फेसबुकले ”, म कुर्लिए | बा-आमा एकछिन गनगन गरिसके पछी, “ केटि चाही अर्याल हुन्, उनीहरुको मामाली चाही खनाल हुन् “ | साधना अर्याल भनेर सर्च गरेपछि जम्मा ३ जना देखायो | मैले फोटो जूम गरेर सबभन्दा राम्री चाही, बुवालाई देखाए | “ हो येही हो केटि, मैले अस्ति पारीको साइलोसंग गएर येसो बाहिरबाट हेरेर आएको ”, बुवाले केटि हेर्न गएको कहानी सुनाउनु भयो | फेसबुकमा मैले फ्रेन्ड रिक्व्यस्ट पठाउन नमिल्ने रहेछ | “ बुवा यी नानीको बाबालाई भनेर फेसबुकमा एड गर्न भन्नु न त ”, मैले धेरै नै कर गरे |

२-४ दिन पछी फेरी घरमा स्काईप भयो | “ बुवा केटिका बाऊसंग कुरा गर्नु भयो त ”, मैले उत्सुकताका साथ सोधे | “ कुरा त भयो, तर केटिका बाउले अलि आना-कानी गरे, लाउरे बूढा हुन्, हाम्रा छोरीहरु, कहाँ नचिनेको केटासंग कुरा गर्दै हिड्छन भने, मैले अरु कुरा गरे, कुराकानी पोजेटिभ छ | अब तँ आए पछी कुरा अगाडी बढ्छ |” बुबाले जवाफ दिनुभयो | रूम-ल्याब-रूमको जीवन चल्दै गर्दा, एकदिन अचानक साधना अर्यालको नामबाट फ्रेन्ड रिक्व्यस्ट आयो | केहि क्षण पछी म्यासेज रिक्व्यस्ट पनि आयो | “ मलाई चिन्नु भयो होला नि”, मिठो स्माइलीका साथ उनको म्यासेज आयो | “ हजुरको बुवाले त कहाँ एड गर्छन नचिनेको केटालाइ भन्नु भएको थियो रे त ”, मैले जवाफ फर्काए | “ हजुर हजुर नभन्नु न प्लिज, म हजुर भन्छु हजुर चाही तिमी भन्नु न है | बुवा त कडा मान्छे नै हो तर, बैनी र म भएर फकाएको, अब बिहे गर्ने सित राम्रोसंग कुरा गर्नु कहाँ पाप हो, कुरा गर्दैमा केहि बिग्रिने पनि होइन भनेको, मान्नु भयो ”, उनले स्पस्ट परिन | “ कस्तो राम्रो नाम रहेछ हजुरको रामेश्वर”, उनले अझै मलाई मक्ख पर्ने कोसिस गरिन | “ धन्यवाद मलाई मक्ख पार्दिएकोमा, अलि अलि गतिलो तेही नाम त रहेछ, थोपडामा त भगवानले धोका दिईहाले ”, मैले नरम भएर भने | एक-पछी अर्को फोटो हेर्दै लाइक गर्दै गए | “ होइन अनुहार नै सबै कुरा होइन नि त, अनि हजुर ले कति धेरै फोटो लाइक गरेको के एकै लटमा, त्यो पनि पहिलो दिन मै ”, उनले कडा लवजमा भनिन | “कति राम्री तिमी, त्येही माथि लाइक गरेको पैसा पनि लाग्दैन ”, पहिले च्याटमा आफ्नो मारवाडी स्वभाव देखाउदै जवाफ दिए |

हामी दुबैको घरमा कुरा हुन थालेको थाहा थियो | त्यसले हामीहरुलाई कुरा गर्न पनि निकै सजिलै भयो | बिस्तारै लामा-लामा कुराहरु हुन थाले | मैले एक-अर्कालाई क्षणिक प्रभाव पर्न भन्दा वास्तविक रुपमा प्रस्तुत हुन आग्रह गरे | “ सबै कुरा जाने र बुझेर भएको माया नै दिर्घकालिन हुन्छ ”, उनलाई सम्झाउदै मैले भने | “ ह्या किन आत्तिनु भएको हो, म तेती कुरा नबुझ्ने पनि छैन के ”, ठुस्किदै उनले जवाफ फर्काईन | साच्चै सार्है राम्री थिइन् साधना, मिलेको शरीर, उज्यालो मुहार, मिलेको दात, पोटिलो वक्ष, टम्म मिलेको कम्मर र निताबं | कुनै मोडेलमा भन्दा कमि थिएन उनको सौन्दर्यतामा | “ तिमी कति सारै राम्री हो के ”, मैले जिस्काउदै भने | “ त्यो त मलाई नि थाहा छ, हजुरले भन्ने पर्दैन ”, चोटिलो उत्तर पो आयो | भर्खर बि.बि.एस सकेकी उनको हरेक कुरा हेरर लट्ठ हुन थाले |

 “ तिम्रो मन पर्ने कुरा के हो ”, मैले सोधे | “ कस्तो मन पर्ने कुरा भन्नु भएको”, उनले प्रति-प्रश्न गरिन | “ मेरो मतलब तिम्रो प्यासन, हबी के हो भन्न खोजेको ”, मैले प्रस्ट पार्न खोजे | “खै के हो के , मलाई नै थाहा छैन | कहिले के कहिले के चेन्ज भैरहन्छ | तर डान्स गर्न चाही मन पर्छ अनि सिरियल हेर्न ” , हास्दै जवाफ आयो | हुनत नेपालमा के को प्यासन के को हबी | मध्यम बर्गीय सबै नेपालीको प्यासन नै पढ्ने होला | पढ्यो त केहि गर्यो नत्र मरु | म पनि अहिलेको ठाउँमा नभएको भए कहाँ साधनासंग बोल्न पाउथे होला र | मनमनै कुरा खेल्दै थियो | एक वर्ष कुरेर मेरो नाम रामपुरमा बि.एस.सी ए.जी पढ्नमा निस्केको थियो | ११-१२ गतिलोसंग नपढे पनि मैले रामपुरमा राम्रै पढेको थिए | रामपुरको अन्तिम बर्षमा राम्रो रिसर्च गरेकाले नै मेरो एडमिसन लुजियाना स्टेट युनिभर्सिटीमा भएको थियो | बाउले बेलामा राम्रो स्कूल पढाएकाले GRE र TOEFL मा खासै गार्हो  पनि भएन | पढ्ने र अलि-अलि कविता-गजल लेख्ने भन्दा ठुलो कला त ममा केहि थिएन | न अंग्रेजी गीत सुन्न आयो न त्यो गितार बजाउन नै | तेही हो मेरो छाती चाही अहिले पनि गितार जस्तै छ | “हजुरको प्यासन के हो तनी, सुनम नत हामी पनि “, उनको पनि सोधिन | “ तिमीसंग कुरा गर्ने, तिम्रो फोटो लाइक गर्ने, तिमीसंग बोल्ने ”, हास्दै भने | “ह्या फेरी नजिस्किनुन, मैले रियल कुरा सोधेको के ”, उनको रिसको पारो नाकको टुप्पोमा पुगेको भान हुन्थ्यो | “ रिसर्च गर्ने, पढ्ने, पपेर छाप्ने आदि ”, मन नलागी-नलागी उत्तर दिए | “के हो यो पपेर छाप्ने भनेको”, नबुझेर सोधिन | आफुले गरेको कामको बारेमा लेखेर पब्लिश गर्ने हो | उनले बुझेको जस्तो गरिन | अनि कति ओटा निकाल्नु भयो तनि भनेर सोध्दा मेरो जवाफ चाही सुन्य नै थियो | “भर्खर त रिसर्च सुरु हुदै छ, के पब्लिश गर्न सक्नु “, मैले आफ्नो ब्याथा सुनाए |

दुबैको घरमा कुरा प्रस्ट भएकाले हाम्रो दुरी दिनानुदिन घट्दै थियो | हाम्रो कुरा हुन थालेको पनि २-३ महिना भएसकेको थियो | बल्ल उनको घरमा एडीएसएल इन्टरनेट आयो | कुरा धेरै हुदै जादा आजकल शरारती, छाडा कुरा नि हुन खोज्थे तर उनले कुराको लिमिट क्रस हुन चाही दिन्थिनन | “ हजुरले अहिले सम्म कति ओटा गलफ्रेन्ड बनाउनु भयो”, अनायासै एती ठूलो प्रश्न पो गरिन | “ खै कति हो कति, मलाई नै थाहा छैन, एउटा नि बनेको छैन हो ”, मैले अनकनाउदै जवाफ दिए | “होइन हौ लज्जाउनु पर्दैन, म हजुरका गलफ्रेन्डहरु भएकोमा हजुरलाइ जज पनि गर्दिन के”, उनले जिद्दी कसिन | “खै हेर आफुले मन पराइयो, उनीहरुले मन पराएनन्, कोइ-कोइले मन पराए पनि मैले मन पराइन, तेही हो अलि सोझालाई टेरिएन, बाठाले के मलाई टेर्थेर ”, मैले गुनासो पोखे | “रामपुरमा त सबैको लव पर्छ रे त, मेरो मामको छोरी नि तेही पढ्नु भएको हो ”, उनको फेरि अर्को सवाल आयो | “ हेर रामपुरमा केटिहरुको हो लव पर्ने, धेरै केटा चाही म जस्तै भुक्का हुन् | त्यही पनि हामी जस्तो आम आदमीको लागि रामपुरमा केटि पाउनु गार्हो छ हो “, लामो सास लिदै जवाफ दिए | “बिचारा हजुरको जीवन त सुक्खा नै पो रैछ त ”, उनले सटायर मारिन, दिल नै घोज्ने गरेर | “अमेरिमा मा कोइ गोरीहरु त छैन नि “, शंका मान्दै सोधिन | “ म तिम्रो लागि अहिले सम्म कुरेर बसेको नि लाटी | यहाँ गोरिले हामी कालेलाई भाउ पनि दिन्नन | उता रामपुरमा पनि गतिला भमराले त फूल फेरी-फेरी चुस्ने गर्थे नि | तिनीहरुको लाइफ चाही अलि रसिलो होला | तेही भएर रामपुरका फूलमाथि खासै मन जादैन मेरो, चुसेको फूललाइ किन धेरै कष्ट गर्नु र “, मैले उनलाई मक्ख बनाउन खोजे | कुरा नबुझेको झैँ गरेर उनले कुरा अन्तै मोडिन |

कुरा हुन थालेको ४-५ महिना पछी मात्रै हाम्रो स्काईपमा कुरा हुने भयो | पहिलोपल्ट टेबलमा ल्यापटप राखेर भिडियोमा कुरा गर्दा, उनको सुन्दर अनुहार र पुस्ट वक्ष राम्ररी देखिन्थ्यो | आँखा कहिले तल त कहिले माथि हुदै थिए | कता-कता हेरु कता-कता नहेरु केहि भेउ पाउन सकिन मैले | केटि चाही सारै राम्रो र हट परेकोमा भित्र-भित्रै मक्ख थिए | १२-१३ घण्टाको समय फरकले हामीलाई गफ गर्नलाई गार्हो बनाएको थियो | म कामुक हुन लागेको बेला नेपालमा बिहान हुने, उही रसिक हुने बेलामा मलाई ल्याब जानु पर्ने | तैपनि भाइबरका कुनै आइकोन बाकी रहेन, आदानप्रदानको लागि |

हाम्रो बिहे हुने लगभग पक्का भैसकेको थियो | मैले उनको अरु कुरा पनि खासै सोधिन, सधै मायाकै कुरा मात्रै हुन्थे | कोरियन एअरलाइन्सको सस्तो-सस्तो टिकेट काटेर असारको पहिलो हप्ता म घर जाने भए | हामी एक-अर्कालाइ भेट्नमा आतुर थियौ | “पहिलो भेटमा मलाई किस दिने कि नदिने”, मैले लाजनै नमानी सोधे | “ ममा फिलिंग ल्याउन सक्नु भयो भए पाउनु हुन्छ नत्र त पईदैन ”, उत्तर आइहाल्यो | “कसरी आउछ त फिलिंग” मैले नजानेको झैँ गरेर सोधे | हजुर केटा हो केटा ले आफै जान्ने भन्दै फोन काटिन | एमेजनबाट उनका लागि भनेर दुइटा प्रीस्टाट हार्ट अस्सोर्टमेंट चकलेट किनेर अर्कै झोलामा राखें |

भाइले उसको युनिकर्न २-४ दिनलाइ भनेर मलाई नै दियो | पोखराको जिरो किलोमिटरमा भेट्ने र कतै घुम्न जाने प्लान भयो हाम्रो | झोलामा दुइ पोका प्रीस्टाट हार्ट अस्सोर्टमेंट हालेर हिडे पहिलो डेटिङका लागि | सेतो टप्समा, टाइट जिन्समा सारै राम्री भनेर रोडको छेउमा छाता ओडी बसेकी साधनालाई देखे | “ये सानु म एता” हेल्मेट निक्लादै मैले भने | “ भो भो हेल्मेट ननिकाल्नु, अरुले देख्छन फेरी ”, भन्दै बाइकको पछाडी बासिन | तर बिचमा झोला राखेर | “हैट के बिदी राम्री भएर आएको त ”, मैले हेल्मेट भित्रबाटै भने | “हजुरलाई लठ्ठ पार्दिउ भनेर नि”, करारा जवाफले भित्र भित्रै मक्ख परे | बिचमा झोला भए पनि, ब्रेक-अक्सिलेटर-ब्रेक को फण्डा थाहा त थियो | तैपनि आफ्नै हो ढिलो-चाडो भनेर मनले केहि गर्न मानेन | पहिलो भेटमा सिधै बन्द होटेल भित्र जाउ भन्न इज्जतले दिएन, नर्मल रेस्टुरेन्टमा जान मन पनि थिएन | लेकसाइडको राम्रो ठाउँमा गइयो, जहाँ राम्रै प्राइभेसी मिल्थ्यो | “ डलरको माया गरेर केहि खानु हुन्न कि के हो”, कुर्चीमा बसेपछि उनले सोधिन | मैले किन र भने | “ आफूलाई हेर्नुस त, खाने बेलामा डोकाले थुनेको जस्तो पो छ त ज्यान ”, हास्दै भनिन | “ खै घिचेकोले किचेको रे , आमाले भन्या ”, मैले जवाफ दिए | “ जे होस् ह्यान्डसम नै हुनुहुन्छ टेन्सन नलिनु”, म रिसाएको बुझेर मलाई रिझाउने कोसिस गरिन | “ तिमी टेन्सन नलिउ, बिस्तारै बुझ्छौ मेरो पावर ”, मैले उनलाइ अर्को सवाल गर्ने ठाउँनै दिईन | उनलाई प्रीस्टाट हार्ट अस्सोर्टमेंट दिए, थ्यांक यू भन्दै ब्यागमा राखिन | हातहरु खेलिरहे, बदनहरु नजिकिए, ओठहरु जोडिन थाले | “ बाबा अब त भयो के, अब पछी हस”, उनले अर्ध-उत्तेजित लवजमा अनुरोध गरिन | बिस्तारै हामी छुट्टिनु पर्ने भो | गार्हो मानी-मानी आफ्नो-आफ्नो घर फर्कियौ |

५ दिनको अन्तरालमा हाम्रो बिहे हुने भो | बिहे र इन्गेजमेन्ट एकै दिन हुने तय भयो | बाबाले सबै खर्च गर्नु भो | मैले किनेको भनेको २-४ बतल, हार्ड-ड्रिंक्स मात्रै हो | ७-८ लाखको सानुलाई गहना किन्दैमा गयो, बुवाको ढुकुटीको १५-१६ लाख चाही सकियो | सन्देशले प्रि-सुहागरातको ट्रेनिंग पनि दियो, बेलुकापख आएर, कवज पनि दियो | बैनिहरुले सजाएर राखेको बेडमा हामी दुइ मात्रै थियौ | “सानु आउन आज के विचार छ तिम्रो”, मैले नसालु अवाजमा सोधे | “ मलाई धेरै थकाइ लागेको छ बेबी” , मायालु स्वरमा उत्तर आयो | मेरो अंगालो आएर सुतौ भनेर सोधिन | पहिलो-रात स्त्री-आलिंगन र पहिलो लामो चुम्मनले चित्त बुझाए | “आजलाई येती नै के सुत्नु न ”, उनको कोमल आवाजलाइ नकार्न सकिन | दुई-चार दिनमा धेरै माया-प्रेमहरु सटिए | पछिका प्रेमगमनहरुमा उनलाई पिडा हुन पनि छाडिसकेको थियो | सुरुसुरुका उनका पिडामा भने म रमाई रहे |

म आएको ३० दिनमा फर्किने प्रोग्राम थियो | उनको पनि भिसाको प्रोसेस्सिंग सुरु गरे | ३ महिना पछी उनि पनि अमेरिका आइन | सस्तो घर खोजेर राखिसकेको थिए | सुरुको दिनहरूमा ल्याब जानै मन-नलाग्ने भयो | ५-६ बजे नै ल्याब छोडेर आउथे, उनले खान बनाएर राख्थिन, संगै खान खायो, माया साट्यो, सुखमय हुदै थियो मेरो जीवन, टम्म मोटाउन पनि लागे | अनि मैले गजल लेखेर सुनाउथे,

बाहिर कुरा लुकाएनी भित्र प्रेम् गर्छिन् डल्लु
हाम्रो आखाँ छलेर हाम्रै बागमा चर्छिन् डल्लु

एति धेरै प्यारहरु लुकाई-लुकाई राखे पनि 
हाम्रा लागि ठाउँ दिन आफै कुना सर्छिन् डल्लु 

उनले पनि सुन्थिन, तर खासै मज्जा मानेको या बुझेको जस्तो चाही लाग्दैनथ्यो | मलाई लाग्थ्यो मेरो गजलमा दम कम भयो कि भेनर, फेरी अर्को सुनाउथे,

भित्र तान बाहिर फ्याल फेरिरहने सास हुन्छु 
हरेक सेकेन्ड नटासिएनी तिम्रा लागि खास हुन्छु 

हावामा फैलिएका झुटो बसनाका रागहरु छन् 
रगत लिएर परिक्षण गर स्वच्छतामा पास हुन्छु 

तर मैले उनीहलाई जति नै कस्ट गरे पनि मेरो गजलले सन्तुष्ट बनाउन सकेको थिइन | मैले रिसर्चका कुराहरु गर्थे, उनले खासै बुझ्थिनन पनि र बुझ्ने कोसिस पनि देखाऊ-थिनन, देखाउनु पनि कसरी, उनको मेजर कमर्स थियो | घरमा सधै काम नगरी बस्दा उनि बोर हुन्थिन, मैले एकदिन के गर्छेउ भनेर सोधे | उनी डान्स गर्नमा मन गर्ने भएर मैले उनलाई, नजिकैको डान्सक्लासमा जोइन गराईदिए | मलाई खासै मन पर्ने कुरा त होइन डान्स, तै पनि उनको अनुरोध मैले पुरा गरिदिए | नेपालबाट डी-भि परेर आएका अंकलका छोरा, प्रदिपले दिने रैछन यो ठाउमा धेरैलाई नेपाली-इन्डियन डान्स ट्रेनिंग |

साधनाको डान्स चल्दै गर्दा मलाई दिउसो एक्लोपन महसुस हुन्थ्यो | येहि क्रममा फेरी सुष्मासंग कुरा धेरै हुन थाल्यो | सुष्मा, मेरो ११-१२ पढ्दा देखि कै साथी हुन् | पातलो ज्यान, स्पस्ट बोलि, मान्छे जस्तो भए पनि उनीमा जति मिजास अरुमा खासै देखेको छैन | धेरै केटिहरुसंग कुरा भए, धेरै आए धेरै गए, तर उनीचाही किन सधै साथी नै रही रहिन | न धेरै टाढाकी न धेरै नजिक कि | उनले पुल्चोकमा इन्गीनीरिंग सुरु गरिन, जुन साल मैले ए.जी सुरु गरेको थिए | तेती बेला देखि नै निरन्तन कुरा हुने साथी हुन् उनि | रामपुरको राजनीतिको कुरा बुझ्ने मध्ये थिइन् सुस्मा | एक प्रकारको बासनासहित आदर्शबादी प्रेम थियो, हाम्रो | मेरो हरेक गजल-कविता खुसि भएर पढ़थिन, लेख्न सिकाउथिन | मेरो बिहे पूर्व र बिहे पछी पनि निरन्तर कुरा चाही हुन्थ्यो | मेरो प्यासन र रिसर्च बुझ्ने चाही उनिनै थिइन् | मेरो एउटा जर्नल पब्लिस हुदा, उनको खुसि मलाई मेरो साधनाको खुसि भन्दा धेरै भएको भान हुन्थ्यो | हाम्रो कुरा हुने, पुरै प्लेटोनिक भएर होला, साधनालाई खासै मतलब र तनाब थिएन | मैले बिहे गर्न लाग्दा पानि ह्यापी म्यरिड लाइफ भन्दा अरु केहि भनिनन | तेही हो, दिनभर साधनाको डान्स क्लास हुदा, मैले सुष्मासंग अलिक धेरै कुरा गर्न थाले | अर्को कुरा साधनका डान्सका कुरामा नत खासै मतलब थियो नत धेरै इच्छा नै | मैले उनको डान्स बुझ्नै खोजेको थिइन | सुष्माको पनि अहिले सम्म कोहि केटा साथी चाही थिएन क्यारे | त्यहि भएर उनलाई पनि कुरा गर्न गार्हो लाग्दैनथ्यो | 

बिहेपछी मेरो बोल्ने लवज अलिक परिवर्तन भैसकेको थियो | मेरो कुरामा धेरै सैतानी र बदमासी भैसकेको थियो, सुष्मासंग जे को नि कुरा हुन थालेको थियो | उनीमा पनि नर्थ क्यारोलिनाको हावा लगिसकको थियो | बोल्दैमा के नै जाने हो र भन्थिन | साधनाको डान्स क्लास ६-७ महिना भैसकेको थियो, एकदिन मलाई उनको डान्स हेर्न जान कर गरिन | उनको करलाई नाई नभनी, उनको डान्स हेर्न गए | गुरु प्रदीपसंगको दुएट डान्स देखेर सारै राम्रो लग्यो, तर आफ्नो श्रीमतीलाइ पर-पुरुषले नचाएको हेर्न चाही गार्हो भयो | साधनापनि आजकल खाली प्रदीपकै बयान गर्छिन | झ्याउ लागे पनि खासै केहि प्रतिशोध देखाऊदिनथे | हिजोआज समभोग पनि दाल-भात जस्तै भैसकेको थियो | खासै नौलो नभए पनि खान चाही पर्ने सधै जस्तो | त्यो पहिलेको जस्तो बासना-कर्शण चाही थिएन | 

मलाई प्रदीपसंग नाचेको कत्ति पनि मन परेको थिएन, तर मेरो प्रतिष्ठाले ननाच भन्न चाही सकेन | “ बाबा आज के गर्दै हुनुहुन्छ”, साधनाले सोधिन | “ तिमीसंग डान्स, मेरो अरु के काम छ र”, मैले टर्रो जवाफ दिए | “ ल्याब जाने रिसर्च गर्ने, अरु के हुन्छ र ?”, मैले थपे | “ बाबा आजमा प्रदीपसंग त्यो शाहरुखको मुवी हेर्न जाम, हजुरलाई हिन्दी खासै मन पर्दैन के रे”, उनले सारै अप्ठेरो प्रश्न गरिन | मैले जाऊ भने | कहिलेकहिँ घरमा खान खान पनि आउथ्यो, प्रदीप | मैले मेरो साथीहरुलाई खासै बोलौदीनथे, उनलाई दुख हुन्छ भनेर, तर प्रदीप चाही आइरहन्थ्यो | बाउको डी.भिले अमेरिका आएको प्रदीपसंग छ प्याक बढी र डान्स बाहेक अरु कला-गुण चाही केहि थिएन | तेही कला मेरो साधनापनि राम्रो डान्स र सेक्सी ज्यान | मेरो ज्यान र मेरो ज्ञान बुझ्ने भनेको सुष्मानै हुन् भन्ने महसुस हुदै थियो मलाई |   

“हिजो-आज तिम्रो याद धेरै आउछ”, सुष्मालाइ गुनासो गर्दै थिए | “तिमी कति बोका भाको, घरमा बुडी भएसी त, अलि कन्ट्रोल हुनु पर्ने नि आफ्नो भावनामा”, उनले गालि गरिन | “ त्यो त हो हेर, तर कुरा बुझ्ने तिमी छौ, म के गरम त नि, आजकल साधनाको शरीरमा तिम्रो दिल र दिमाग भएको आवास गर्छु म, तर जब बोल्छिन अनि तिमी होइनौ भन्ने महसुस हुन्छ, त्यो उनको कामुक बदनमा मात्रै म आकर्सित हुन सकेको छैन”, म भाबुक हुदै भने | “ हेर तिमी विवाहित हो, त्यसैले धेरै कुरा नगर, मन-मनमा जे गर्ने हो गर तर तेही हो म तिम्रो बिहेको बेखुसिको कारण बन्न चाहन्न”, सुष्माले सम्झाउने कोसिस गरिन |

मलाई सुष्माको अशृंगारिकतामा नै प्रेम हुदै थियो | साधनाको ओठहरुबाट मैले सुष्मालाइ चुमेको महसुस हुन्थ्यो | उता साधना डान्समै मस्त थिइन्, उनले मलाई बुझ्ने कोसिस गरिनन् र मैले भनिन पनि | नेपाली नयाँ वर्षमा सास्कृतिक कार्यक्रम हुन लागेको थियो | “बाबा हजुर र म नाचम न”, साधनाले सोधिन मसंग | “हाहाहा, अब तेही बाकि छ, मेरो ज्यानले नाच्ने तिमी माथि मात्रै हो त्यो पनि बत्ति निभेसी ”, मैले उत्ताउलो जवाफ दिए | “ बाबा तेसो भए म प्रदीपसंग नाचम है त ”, मेरो आज्ञाको आसा गरिन | मैले हुन्छ भने | उनले राम्रो नाचिन, प्रदीपले पनि राम्रो नाच्यो, तर त्यो कपल डान्सले धेरै तनाब दियो मेरो मगजमा | धेरै हिन्दि फिल्मका सिनहरु सम्झिन बाध्य बनायो |

राति मलाई साधनासंग अंगालीन मन लागेन, त्यो अँधेरोमा पनि कुनै उत्तेजना भएन | मन तेसै शिथिल थियो, अर्को-पल्टी फर्केर सुत्ने कोसिस गरे, तर सुत्न सकिन, मलाई निन्द्रा परेन | साधना घुर्न थालिसकेकी थिइन् | मनमा धेरै कुरा खेल्यो, मैले साधनाको तनको मायाले बिहे गरेको महसुस भयो, मेरो मन अहिले पनि सुष्मासंगै छ जस्तो लग्यो | आज साधनालाई सुष्मा सम्झेर चुम्न पनि सकिन | बिस्तारै सुष्माको यादमा निदाएछु |  

बिहान उठ्दा साधना बाथरूम गैसकेकी रैछिन | मैले आज सबै कुरा खुलस्त गर्ने निर्णय मन-मनै लिईसकेको थिए | मलाई मेरो रिसर्च र यो सम्बन्धको तनाबले उठिबास बनाउन लागेको थियो | “बाबा आजमा हजुरलाई एउटा कुरा भन्नु छ”, बाथरूमबाट कुद्दै आएर साधनाले भनिन | “बेबी आज म पनि तिम्लाई ठूलो कुरा भन्नु छ”, मैले पनि थपे | “नाइँ नाइँ लेडिज फस्ट”, उनले जिद्दी गरिन | “बाबा आज मैले यू.पी.टि गरेको पोजेटिभ आयो, मेरो मिन्स नभएको आज एक महिना २० दिन भयो | म प्रेग्नेंट छु बाबा !!!”, खुसि हावामा उफ्रिदै भनिन | “हो र बेबी हामीलाई बधाई छ, आइ एम सो ह्यापी”, मैले लामो सास लिदै भने | “अब हजुरको कुरा के हो भन्नुस बाबा”, मलाई मेरो कुरा भन्न कर गरिन | “ आइ लव यू बेबी, आइ लब यू सो मच, अब तिमी प्रेग्नेंट छौ, नो मोरे डान्स ”, मैले मायाले भने | हस बाबा भनेर मेरो ओठमा चुमेर चिया पकाउन किचन तिर लागिन |


कल्पना किरण

मार्च-१२ २०१६

Friday, March 4, 2016

ति प्रचण्ड र यी प्रचण्ड

५४-५५ साल तिर घरघरका खालि भित्ताहरुमा माओवादीका उत्तेजक नाराहरुले भरिएका हुन्थ्ये | गिरिजा प्रसादलाई दिल खोलेर गाली गरिएका हुन्थ्यो | घरमा गास-बासका लागि आउने माओबादीका कार्यकर्ता आफ्ना सुप्रिम नेता प्रचण्डको गुण-गान गर्दैमा मस्त देखिन्थे | १०-१२ सालको युद्धले देश र जनतालाई धेरै नै परिबर्तन दिने कुरा गर्थे | र हामी उनीहरुका कुरा मज्जाले पत्याउथ्यौ पनि | तर नाम “प्रचण्ड” सुन्दैमा पनि डर लाग्ने खाले नै लाग्थ्यो |

५८-५९ साल तिर पहिलो पटक बिबिसी नेपाली सेवामा प्रचण्डको अन्तरबार्ता आउने भनेर उद्घोस गरे, रबिन्द्र मिश्रले | अर्को हप्ता प्रचण्डको कुरा सुन्न लालाहित थियौ हामीहरु | शर्ट-ओएबको २५ मिटर ब्याण्ड तिर १५ मिनट जति लामो कुरा सुनियो, प्रचण्डको | उनको कुराले मेरो मन नै लालाहित भयो, देशमा कायापलट नै हुने सोचेउ | सामन्तबाद, बिस्तारबाद, सम्राज्यबादको बिरुद्धमा ठूला-ठूला कुरा गरे | केहि समय पछी फेरी प्रचण्डपथ भनेर पर्चाहरु बाटोमा देखिन थाले | मैले त त्यो कलिलो दिमागले प्रचण्ड अब माओ, लेनिन, स्टालिन, बराबरका नेता हुने भए भनेर आकलन समेत गरे | तेही बीचमा प्रचण्डले लालध्वज (अहिलेका बाबुराम) र उनकी श्रीमतीलाइ पार्टीबाट निस्कासन गरे | त्यो बेलाको मैले, त्यो कारबाहीलाई मन-मनै नैतिक समर्थन दिए |

बिरेन्द्र मारिए, ज्ञानेन्द्रलाई गद्दी पचेन ! डरपोक एमाले, कांग्रेस पनि जबर्जस्ति गणतन्त्रको पक्षमा उभिन बाध्य भए | माओबादीको ठुलै सहयोगमा ६२-६३ को जन-आन्दोलन पनि भयो | राजा ज्ञानेन्द्र सत्ताच्यूत भए | एक साझ गिरिजाबाबुले प्रचण्डलाई सार्बजनिक गरे, र पहिलोपल्ट असली प्रचण्ड देखियो र सुनियो पनि | प्रचण्डलाई हेर्दा-सुन्दा तत्कालिन नेपाली नेताहरु भन्दा अलग र फरक लाग्थ्यो | म लगाएत धेरै नेपालीलाई प्रचण्डबाट धेरैनै आसा थियो | 

प्रचण्डको बोलीमा जति मिठास छ त्यो सायदै अरु नेताको बोलीमा होला | प्रचण्ड पानीसंग पानी, ढुंगासंग ढुंगा बन्न सक्छन ! सबैलाई प्रयोग गरि आफु र आफ्नो पार्टी अनुकुल बनाउन सक्छन ! प्रचण्डको चालहरुका वृतान्त सुधीर शर्माको “प्रयोगशाला”मा पढ्न पाइन्छ ! पहिलो संबिधानसभामा तेही मिठो बोली, परबर्तनको सपना, र कांग्रेस-एमालेको नाताबादी-कृपाबादी-भ्रस्ट राजनीतिबाट वाक्क भएर जनताको भोटले सबै भन्दा ठुलो पार्टी हुन पुग्यो | तेही आडम्बरले माओबादी धेरै उम्लिए पनि, तेही उम्लेको माओबादीको सिकार भए गिरिजा र नेपालको पहिलो रास्ट्रपति हुनबाट चुके | कटवाल-पर्ब पछी माओबादीको ओरालो लाग्न सुरु भयो ! पहिले मात्रिका तराई झरे, पछी वैद्यबा पनि प्रचण्डसंग चित्त नबुझेर नयाँ पार्टी बनाए | तेसै बखत दोस्रो संबिधानसभा भयो, त्याति ठुलो माओबादी खोपीमा अटाउने पार्टी बन्यो | प्रचण्ड स्वयं बल्ल-तल्ल त्यो खोपीमा छिर्न सके | तब मात्रै माओबादीले जनताको अर्थ बुझे | 

संबैधानिक राजतन्त्र, पुरातनवादी राजनीतिक पार्टीहरुसंग चित्त नबुझेर बनेको त्यो माओबादी जसले १७ हजार नेपालीको ज्यानमा टेकेर शासन-सत्तामा पुग्यो, पछी आफैलाई पुरानो पार्टी भन्दा एक रति फरक पार्न सकेन ! प्रचण्ड, बाबुराम, वैद्यहरुलाई पिडितको आत्माहरुले कहिले शान्ति दिने छैन ! जनयुद्धमा मारिएकाहरु पिडित भइरहे, १० साल युद्धमा होमिएकाहरु पछाडी परे र अवसरबादीको जमात माओबादी पुरै खाओबादी बनाईदियो | ५०-५२ सालतिर गाउमा सास फेर्न समेत कांग्रेस हुनेपर्थ्यो | कांग्रेसी नेतालाई पूजा नगर्नेहरुको उठिबास लगाईन्थ्यो | कसैलाई फकाउने कसैलाई धम्काउने कसैको जागिर सरुवा गरिदिने त कति बामपन्थीलाइ गुण्डा लगाएर पिटाइन्थ्यो पनि | त्यहि सामन्तीबादी सोचको बिरुद्ध जन्मेको भन्ने माओबादी १५ वर्ष पछी (६६-६७ तिर) पुरानो कांग्रेस जस्तो देखिन थाल्यो | गाउका गुण्डा-लफंगाको पार्टी हुन पुग्यो, हरेक घरमा न्यायाधिस हरेक घरमा पुलिस भए | न्यायको लागि अदालतनै जानु नपर्ने | दुई-चार लाठी र लात्ताहरुले धेरै नेपालीले न्यया पाए |

काठमाडौँका सुकुला-मुकिलासंग बेखुस प्रचण्ड पार्टीसंगै बिस्तारै मोटाउदै गए, घर ठूलो भयो, नया गाडी आए | २-४ महिनामै आफै सुकिला भए | बिस्तारै जनसेना पनि बन्द कोठाभित्र सिमीत हुन-पुग्यो, अन्तिममा १९ हजार मध्य २* हजार भन्दा पनि कम नेपाल सेनामा समायोजन भए ! त्यो जनसेनामा आएको पैसा कुन कता गयो खासै हिसाब-किताब भएको देखिएन ! २-४ लाख लिएर घर फर्केकाको पुर्ब जनसेनाहरुको कथा सुनेरनै अहिलेको प्रचण्ड र पहिलेको प्रचण्डको फरक थाहा पाइन्छ | उनले लगाएको सफा कपडाको इर्स्य होइन तर हजारौ रगतको टाटाले भरिएको लुगाको भर्याङमा माथि चढेका प्रचण्ड, उनीहरु प्रति नै बफादार देखिएनन् | माओबादीमा पैसा तिरेर नै नेता हुन पाइने भयो, नाताबाद-कृपाबादले पार्टी फुलिसकेको थियो ! यी प्रचण्ड हिरोइनसंग बाटोमा नाच्दै थिए, आफ्ना सरेपसेलाई टिकेट दिदै थिए ! छेपारोको रंग भन्दा प्रचण्डको बोली परिबर्तन हुन्छ ! हरेकपल्ट जब प्रचण्ड बोल्छन, उनको उचाई र तौल घटेको मससुस हुन्छ ! 

माओबादी फेरी फुट्यो, बाबुरामको नयाँ शक्ति बन्यो | यो शक्ति कतिको नयाँ हो, के गर्ला २-४ साल कुरेर हेर्ने पर्ला | तर १६ हजारको आत्माले बाबुरामलाइ के भन्ला त्यो बाबुरामले नै मनम गरुन | तर बाबुराम गए पछि प्रचण्डको दिल नै टुटेको छ, त्यो उनको हरेक भासनबाट थाहा हुन्छ ! 

मेरो व्यक्तिगत बिचारमा बाबुराम अलिक बिकासबादी र प्रचण्ड चाही सकुनी नेता हुन् | प्रचण्डको कुरा एक घण्टा सुने भने मक्ख नहुने कमै होलान | यी प्रचण्ड अहिले गालि गलौचमा सबैलाई पछी परिसकेका छन् ! हरेक दिन बाबुरामलाइ नयाँ नयाँ आरोप लगाउछन ! २-४ साल अगी रेखासंगै उफ्रिने प्रचण्ड अहिले करिश्मालाइ सम्म गाली गर्न भ्याइसके | आफूलाई फूलमाला नचढाउने प्रमुख जिल्ला अधिकारीलाई समेत सरुवा गराए रे | गोविन्दराज जोशी शिक्षा मन्त्री हुँदाको याद दिलाए प्रचण्डले | त्यो प्रचण्ड गरिबको रगतमा खेलेर यो प्रचण्ड बन्यो | फरक जम्मा १७००० नेपालीको जीवन मात्रै हो ! अहिलेको माओबादी र कांग्रेसमा खासै केहि फरक छैन, फरक भनेको जन्मेको पृष्टभुमि मात्रै हो, अहिलेको चाल मा एक इन्चको फरक देख्दिन म |  

सम्माननीय प्रचण्ड ज्यु !
अहिले पनि केहि गर्न तपाईको चाप्लुसी गर्नु पर्ने भए, तपाई सामन्ती हो कि नै ? तपाइँ, गिरिजा र ज्ञानेन्द्र मा के फरक भयो र? कि आफैलाई माओबादीको राजा भनेर घोसणा गर्नुस ! तपाईकै कृपाले कति सभासद भए, आफ्नै छोरालाइ कति सहयोग गरेर कहाँ सम्म लानु भयो, त्यो गाउमा मरेका सोभकान्त पोखरेलहरुको छोरा-छोरीलाई चाही के गर्नु भो ? येही तपाइँलाइ राजा बनाउन १७००० ले बलि दिएका हुन् र? के येही हो प्रचण्ड-पथ? बाबुरामलाइ धेरै गालि गरेर आफ्नै इज्जत कति गिराउनु हुन्छ? सक्नु हुन्छ भनेर गोर्खा होइन, कतै काठमाडौँको कुनै क्षेत्रबाट उठेर बाबुरामलाइ हराएर देखाईदिनुस, अनि बाबुरामले पनि आफ्नो औकातको भ्याउ पाउने छन् !!! सक्नु हुन्छ भने बिना बाबुराम पनि पार्टी बनाएर देखाउनुस, गफ पेल्न सजिलो छ कामरेड, कहिले कहिँ गरेर पनि देखाउनुस न !! एउटा ब्रेक-अप हुदैमा किन हतासिनु हुन्छ ? अन्तिममा, म माओबादी बिरोधी/समर्थक होइन, म त्यो प्रचण्डको समर्थक थिए कुनै बेला, तर यो प्रचण्डलाई समर्थन गर्न आधार खोज्दा भेटाउन सकिन ! 

कल्पना किरण, ४-मार्च-२०१६ 






Wednesday, February 17, 2016

बनावटी प्रिया

­जति आउछ, त्यति मात्रै बोल प्रिय,
नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु,
प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ
तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ !

                                                          
मुहारमा लेपन धेरै नलगाउ प्रिय
मेरो नजर केवल फुस्रो तिम्रो मुहारमा नै अल्झिनेछ
श्रृंगार त केवल दुर नजरका लागि मात्रै हो
यी हातहरु श्रृंगारबिहिन तिम्रो चेहेरामा मात्रै सल्बलाउने छ !


अग्ला चप्पलहरुमा धेरै नकुद प्रिय
एक-एक चालहरुका आवाज म ध्यानले सुन्नेछु
सहि हिड्यौ या गलत, तिमीलाई नै ज्ञान होला
तर चार दिवार भित्र तिमी चप्पल बिना नै हुनेछौ !


किम्ती र बाक्ला पहिरनले कामुक नबन प्रिय
तिम्रो कमुकतामा म आफु उत्तेजित हुन खोज्नेछु
फेरी म मा उत्तेजना नआउन पनि  सक्ला
किनकि मैले हेर्ने तिमी नांगी हुनेछौ !


तिमी भित्रको मासुम मुर्खतामा रम्न मन छ
ति ओईलाएका फुस्रा अंगहरुमा खेल्न मन छ
तिमी भित्रको असली “तिमी” हेर्न मन छ
त्यो “असली तिमी”लाई नै औधी माया गर्न मन छ


By kalpana kiran

Feb 18 2016

Saturday, January 16, 2016

चप्पल र कपडा


त्यो चुडेको चप्पलको तुना,
पोलेर गासेको अस्ति मात्रै हो जस्तो लाग्छ,
तर अहिले यी काला पाऊहरुमा “नाइकी” आइसक्यो,
तर मेरो देश अहिले पनि, चुडेकै चप्पलमा लम्किरहेको छ !!


काखीमा उध्रेको लुगामै कट्यो हाम्रो बाल्यकाल
आजकल यहि बदन ब्रान्डेड कपडामा बेरिने भैसक्यो  
तर देशले आफ्नो च्यातिएको महिलो कपडा अहिलेसम्म फेर्न सक्या होइन !!


कहिले गोरा आए त कहिले काला  कहिले राता 
त्यही फाटेको चप्पल, उध्रेको लुगा देशलाई ओडाए
काँडाले देशलाई कोपेको कहिले महसुस गरेनन्,
नत कपडा गनायो भनेर नै धुने कोसिस गरे !!


सबैमा रहर छ, मैले नै यी चप्पल फटाऊ भन्ने  
सबैको मृग-त्रिसना, मैले नै धेरै यो कपडा फोहर पर्नु पर्यो भन्ने
२-४ पलमै फेरी अर्कोले खोस्यो,
यी पुराना चप्पल कहिले एता त कहिले उता,
तर नयाँ हुन कहिले पाएनन् !!


चप्पल राम्रो बनाउ भन्ने, कपडा सफा राखौ भन्ने
खाली नारा मात्र भो, सबैले आफ्नो मात्रै राम्रो राखे
तर देशलाइ सधै दुखिरह्यो, सधै गनाइरह्यो,
हामी केवल मुखदर्सक भएर बस्यौ !!


दान दिने धेरै आए, सहयोग गर्ने धेरै आए
नत सहयोग लिन सकेउ, नत आफै गर्न नै
दोष खाली अरुकै मात्रै, आफु चाही सधै चोखो रह्यौ
र देशलाइ सदियौ देखि दुख मात्रै दिई राखेयौ !!


नयाँ कपडामा बेर्न मन छ देशलाई,
नयाँ चप्पल किन्दिने पैसा पनि छ,
तर डर खालि दिएका कुरा कसले लान्छ भन्ने मात्रै हो
कानुनले चल्ने देश बनाउं, चप्पल-कपडा मात्रै होइन
पुरै देशको मुहार नै फेर्नु पर्ने छ,
ख्याउटे, निर्बल देश फेरी एकदिन बलियो बनाउनु पर्नेछ !!


आफ्ना लुगा जस्तो भए पनि,
विदेशमा देशकै लुगाको कदर हुने रहेछ
आफु जति नै महँगो अत्तरले मग-मग भएनी
अरुले खाली देशकै गन्ध सुघ्ने रहेछन !!


म पनि सुकिलो हुन चाहन्छु,
म पनि बास्नादार हुन चाहन्छु
तर यो सम्भव देश सुकेलो भएर नै हुने रहेछ
तर यो अनुभव देश फूलेसी मात्रै सम्भव रहेछ !!


 Kalpana Kiran
16/1/2016
https://twitter.com/jeevanadhikari